स्वस्तिक श्रेष्ठ / पाल्पा,१२ असार ।

सर्पदंश र सर्प संरक्षणका लागि अभियान

कार्यक्रममा सर्प विशेषज्ञ डा.छबिलाल थापाले कार्यपत्र प्रस्तुत गर्दै मानिसहरुले सर्प पहिचान गर्न नसक्दा धेरै दुर्लभ सर्पहरु वर्षेनी मारिने गरेको बताए । नेपालमा सर्पको विषयमा अध्ययन अनुसन्धान निक्कै कम भएको तथा तथ्याक राख्ने भरपर्दो र बैज्ञानिक विधि नहुदा यस सम्बन्धमा वास्तविक जानकारी बाहिर आउन नसकेको उनले दुखेसो गरे । नेपाल सर्पदंशको उपचारका लागि भारतमा आश्रित हुनुपर्ने बाध्यता रहेको भन्दै उनले वर्षेनी भारतबाट कोटामा प्राप्त हुने निशुल्क ३० हजार भाईल औषधी अब पर्याप्त नहुने समेत बताए । भुकम्पपछि सर्पदंशको विरामीहरु बढेको भन्दै नेपालमा नै सर्पदंशको औषधी उत्पादनमा सरकारले जोड दिनुपर्ने उनले बताए । यस विषयमा नीजि कम्पनीहरु समेत उत्पादनका लागि तयार भएपनि कानुनले रोकेको भन्दै उनले अहिले पनि विधयक पास हुने क्रममा रहेको बताए ।

नेपालमा सर्पदंशका विरामीलाई लक्षणको आधारमा बढि डोज औषधी दिईने गरेका भन्दै उनले बिरामीलाई कुन सर्पले टोकेको हो भन्ने जाच गर्न सकिने उपकरण भित्राउन जरुरी रहेको बताए । यसो गरिएमा एउटा बिरामीलाई केवल एक भाईल औषधीले निको हुने उनले बताए । ‘छिटोभन्दा छिटो सरकारले डाईग्लोष्टीक किट भित्राउने तर्फ जोड दिनुपर्छ ।’— उनले भने । अहिले न्युनतम पनि सर्पदंशका विरामीलाई ३० भाईलसम्म औषधी दिईने गरिन्छ । भारतबाट आउने एन्टी स्नेक भेनम चार प्रजातीका सर्पको विषको मिश्रण गरिएको हुदा पनि धेरै औषधी दिनुपर्ने बाध्यता रहेको उनले बताए । ‘जुन सर्पले टोकेको हो त्यो पत्ता लगाउन सकिएको अवस्थामा एक भाईलले काम गर्छ ।’— उनले भने । नेपालको पश्चिमाञ्चल विकास क्षेत्रमा उनको समूहले गरेको १० वर्ष लामो अनुसन्धानमा सर्पदंशको मृत्युदर घटेको पाईएको छ । अध्ययनले हाल सर्पदंशबाट हुने मृत्युदर १८.७६ बाट घटेर १३ प्रतिशतमात्र झरेको उनले बताए ।
नेपालमा पाईने धेरै सर्पमध्ये थोरै प्रजातिका सर्पमात्र विषालु हुने भएपनि मानिसहरु सबै सर्पलाई मार्ने गरेका छन । नेपालमा ८० प्रजातिका सर्पहरु पाईनेमध्ये केवल २१ प्रजातीका मात्र विषालु हुने विज्ञहरु बताउछन । यही गतिमा सर्प मार्ने हो भने इको सिस्टमलाई नै समस्या उत्पन्न हुने भएकाले पनि सर्पलाई संरक्षण गर्न जरुरी रहेको सर्प अनुसन्धानकर्ता कमल देवकोटा बताउछन । विष नभएका सर्पलाई बचाउने र विषालु सर्पलाई समेत संरक्षण गर्ने अभियान थाल्न जरुरी रहेको उनले बताए । अहिले कक्षा ६ देखि स्नातक सम्मका पाठ्यपुस्तकमा सर्पदंशपछिको प्राथमिक उपचारको विषयमा गलत सन्देश जाने गरि पाठ्यक्रम तयार पारिएको दाबी गर्दै उनले यसलाई सच्चाउनका लागि आवश्यक कदम समेत चालिएको उनले बताए । पाठ्यक्रममा सर्पदंशपछि घाउलाई धारिलो बस्तुले काट्ने, रगत बगाउने, टोकेको स्थानदेखि माथि पट्टिले बाध्ने जस्ता गलत संदेश दिदा पनि आम मानिसमा गलत धारणाको विकास भएको भन्दै उनले विश्व स्वस्थ्य संगठनको निर्देशिका अनुसार सच्चाउनका लागि पहल थालिएको बताए । सर्पको जानकारी सर्वसाधारणलाई दिने र यसलाई संरक्षण गर्ने अभियानलाई देशब्यापी रुपमा अगाडी बढाउने उनले बताए ।

वर्तमान कानुन सर्पको अध्ययन अनुसन्धानका लागि बाधक भएको भन्दै उनले यसलाई परिमार्जन गर्न जरुरी रहेको बताए । भारतीय सपेराहरुले खुल्ला रुपमा नेपाल आई सर्प लगेर महङ्गोमा बेच्ने गरेपनि कुनै कानुनले नरोक्ने तर अध्ययनका लागि मरेको सर्प एक ठाउबाट अर्को ठाउमा लगिदा झन्झट ब्याहोर्नुपर्ने अवस्था रहेको उनले बताए । 


विश्वब्यापी रुपमा नै सर्प, भ्यागुतो र गोहीको विषयमा अध्ययन अनुसन्धान निक्कै कम गरिएको बायोडाईभरसिटी कन्जरभेन्सी नेपालका अध्यक्ष आशिष बश्यालले बताए । जसका कारण पनि यिनीहरुको विषयमा आममानिसमा गलत धारणा बसेको उनको दाबी छ । सर्पदंशको विषय आम स्वास्थ्यसंग जोडिएको चासो भएकाले पनि यसमा सरकारले विशेष ध्यान दिनुपर्ने उनले बताए ।


सर्पदंशको उच्च जोखिममा पर्ने नेपालको २६ जिल्लामध्ये रुपन्देही पनि एक हो । जहा वर्षेनी धेरै मान्छेको सर्पदंशपछि समयमा उपचार अभावमा मृत्यु हुने गरेको छ । विश्व स्वस्थ्य संगठनका अनुसार नेपाल प्रति १ लाख जनसंख्यामध्ये १ सय ६१ जनाको मृत्यु सर्पदंशबाट हुने गरेको छ । शंकरनगर बनविहार तथा अनुसन्धान केन्द्रले यसवर्षबाट नै ५० प्रजातीका सर्पहरु संरक्षणका अभियान थाल्ने बताएको छ । केन्द्रका अध्यक्ष बाबुराम अर्यालले छिट्टै सर्प संकलन र ब्यवस्थापनको काम अघि बढाउने जानकारी दिए ।
फोटो ः नेपालमा पाईने सर्पका प्रजातिका बारेमा जानकारी दिदै सर्पदंश र सर्प संरक्षणमा लागेका कमल देवकोटा